आज क्रिसमस दिवस
पुस १०, २०७५ मंगलबार ७:९:२६ | Star Yamu
काठमाडौं – आज क्रिसमस दिवस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
यस अवसरमा काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ । आजका दिन मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् ।
दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । नेपालमा क्रिश्चियन इतिहास ४ सय वर्ष भन्दा पुरानो रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनुभएको छ । क्रिसमसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको बताउनुभएको छ ।
शुभकामनामार्फत प्रधानमन्त्री ओलीले पहिलादेखि नै बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको सनातन धर्मको अतिरिक्त नेपालमा अन्य धर्म मान्ने मानिसहरुको स्वतन्त्रतासमेत सुनिश्चित गरिएको बताउनुभयो ।
No comments:
Post a Comment